काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले घरेलु भूमिमा अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ ।
त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिज माघ २२ देखि २९ गतेसम्म चल्नेछ । सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले तयारीलाई तिब्रता दिएको छ ।
क्यानले सिरिजको तयारीलाई तिब्र बनाएसँगै खेल हेर्न आउने दर्शकको लागि समेत टिकटको व्यवस्था लागु गरेको छ ।
क्यानले सिरिजका लागि दुई फरक मूल्यको टिकट बिक्री गर्ने जनाएको छ । नेपालले खेल्ने खेल र नेपाल बिना खेलिने खेलको लागि क्यानले टिकट मूल्य फरक राखेको हो ।
नेपालले खेल्ने खेलको टिकट मूल्य २ सय राखिएको छ । यस्तै नेपालले नखेल्ने खेलको टिकट मूल्य भने १ सय रहेको छ ।
खेल हेर्न आउने दर्शकले ईसेवामार्फत टिकट किन्न सक्नेछन् । यसअघि सन् २०१७ मा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अन्तर्गत नेपाल र केन्याको खेलमा समेत १ सय टिकट रहेको थियो ।
लिग-२ अन्तर्गत नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । सिरिज मात्र नभएर नेपालको यो एतिहासिक सिरिज समेत हो । नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा एकदिवसीय खेल खेल्दै छ ।
सिरिजमा नेपालले चार खेलमा ८ अंक प्राप्तिका लागि खेल्ने छ । पहिलो खेल २२ गते ओमानसँग खेल्दैछ । यस्तै दोस्रो खेल अमेरिकासँग २५ गते खेल्दा २६ गते ओमानसँग र २९ गते अमेरिकासँग खेल्दै सिरिजको अन्त्य गर्नेछ ।