नेपालगन्ज । सुबेन्दु पाण्डेले ७५ रनको अर्धशतकीय इनिङ्स खेलेपछि वडा नम्बर ५ ले अन्तर वडास्तरीय क्रिकेटमा सानदार जित हासिल गरेको छ ।
मंगलप्रसाद उच्च माविको मैदानमा शुक्रबार वडा नम्बर ५ ले ३ नम्बर वडालाई १० विकेटले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको वडा नम्बर ३ ले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १९ रन जोडेको थियो । उसका लागि अकरम सिद्धिकीले २७ रन, अब्दुल्लाह अन्सारीले २४ रन र मुजिव अन्सारीले १७ रन बनाएका थिए । ५ नम्बरका वलर मेराज अन्सारीले ४ विकेट र हसन खानले २ विकेट लिए । मेराजले ४ ओभरमा ३१ रन दिएर ४ विकेट र हसनले ४ ओभरमा २४ रन दिएर २ विकेट लिन सफल भएका थिए ।
जवाफमा वडा नम्बर ५ ले १३ ओभरमा विना विकेटको नोक्सानीमा जित निकालेको थियो । ओपनर सुबेन्दुले ७५ रन र रितेस शाहले ३३ रन बनाएर टोलीलाई सानदार जित दिलाए । म्यान अफ द म्याच सुबेन्दुले ४९ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेशले ३३ बलमा ६ चौका प्रहार गरे । खेलमा मेराजले म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
अर्को खेलमा १५ नम्बर वडाले २ नम्बर वडालाई सहजै १ सय ६ रनले हराउन सफल भयो । टस जितेर ब्याटिङ गरेको १५ नम्बर वडाले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७८ रन बनाएको थियो । टोलीका लागि बिपिन कुमार साहुले ६३ रन, प्रवेज राइले २७ रन र मोहम्मद सुजत हुसेनले २६ रन जोडे । बिपिनले ५३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । २ नम्बर वडाका करन केसी र सुरेन्द्र कुमार बैश्यले समान २ विकेट लिए ।
जवाफमा २ नम्बरले १६.४ ओभरमा ७२ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि गणेश सिहले १२ रन, अमर लाल श्रेष्ठ र सुरेन्द्र कुमार वैश्यले समान ११ रन बनाएका थिए । १५ नम्बरका अज राजा राईले ४ विकेट र शंकर कुमार मिश्राले ३ विकेट लिए । खेलमा बिपिन कुमार साहु म्यान अफ द म्याच र राजा राईले म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।