काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) ले ललितपुरमा सुविधासम्पन्न क्रिकेट एकेडेमी र फुटसल संचालनमा ल्याएको छ ।
जिएचसीएले ललितपुरको हात्तीवनस्थित खरिबोटमा एकेडेमी र फुटसल संचालनमा ल्याएको हो । एकेडेमी र फुटसलको शुक्रबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायतले उद्घाटन गरे ।
जिएचसीएले पहिलो पटक क्रिकेट एकेडेमीसँगै फुटसल पनि संचालनमा ल्याएको हो ।
यसअघि जिएचसीएको एकेडेमी सिनामंगलमा रहेको थियो । क्रिकेट खेलको बड्दो लोकप्रियता र नयाँ खेलाडी उत्पादन गर्ने ल्क्षयसहित जिएचसीएले ललितपुरमा दोस्रो एकेडेमी खोलेको हो ।
४ रोपनीमा निर्माण गरिएको एकेडेमीमा २ रोपनी क्रिकेटको लागि प्रयोग भएको छ । १ रोपनीमा फुटसल र बाँकीमा कार्यालय निर्माण गरिएको छ ।
एकेडेमीमा आउने विद्यार्थीलाई भर्ना शुल्क ४ हजार र मासिक ३ हजार ५ सय लाग्ने जिएचसीएका अध्यक्ष सुदिप शर्माले जानकारी गराए । एकेडेमीमा राष्ट्रिय टिमका प्रशिक्षक रहिसकेका जगत टमटाले प्रशिक्षण दिने छन् ।
क्रिकेट सिक्न आउने खेलाडीको सुविधाको लागि एकेडेमीमा बलिङ मेसिनको समेत व्यवस्था गरिएको छ ।
नेपालमा लुकेका प्रतिभा खोज्ने क्रममा जिएचसीएले ललितपुरमा शाखा खोलिएको संचालक समितिका सुमन राज कार्कीले जानकारी दिए ।
'लुकेका प्रतिभा खोज्न अहिले दोस्रो शाखा ललितपुरमा खेलेका छौँ,' कार्कीले भने, 'खेल्न चाहने खेलाडीलाई सिकाउने र प्रतिभा भएका खेलाडीलाई एक प्लेटफर्म जिएचसीएले दिने छ ।'
एकेडेमीमा खेलाडीलाई सहज बनाउन आफ्नै होस्टलको व्यवस्था समेत गरेको छ । एकेडेमी नजिकै रहेको होस्टेलमा २० विद्यार्थीलाई सुविधा दिने छ ।
७ वर्ष अघिबाट सुरु एकेडेमीले उमेर समूह देखि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी सकेको छ । राष्ट्रिय टिमका इशान पाण्डे जिएचसीएका उत्पादन हुन् । यस्तै यू-१९ टोलीका सदस्यहरु सागर ढकाल, अविशेक बस्नेत, हिमान्सु दत्त समेत जिएचसीएले उत्पादन गरेका हुन् ।
जिएचसीएले आगामी दिनमा आफ्नै खेल मैदान बनाउने लक्ष्य समेत लिएको छ ।
'अहिले खेलाडी भाइहरुलाई नेटमा अभ्यास गराउने गरेका छौं,' जिएचसीएका अध्यक्ष शर्माले, भने 'आगामी दिनमा आफ्नै खेल मैदान बनाएर प्रतियोगिता खेलाउने लक्ष्य लिएका छौं ।'
यस्तै भरतपुरमा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि जिएचसीएले १ लाख सहयोग गरेको छ । जिएचसीएका अध्यक्ष शर्माले धुर्मुस सुन्तली फाउन्डेसनका सचिब पुरुषोत्तम हुमागाईलाई एक लाखको चेक हस्तान्तरण गरे ।