धनगढी । प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि शारदा मावि र त्रिभुवन मावि भिड्ने भएका छन् ।
बिहिबार भएको दोस्रो सेमिफाईनलमा शारदाले व्रोड भिजनलाई २८ रनले हराउँदै त्रिभुवनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा शारदाले टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभरमा सबै विकेट गुमाएर १०० रन बनायो । शारदाका लागि ज्योती शर्माले २१ रन र करुणा चौधरीले १६ रन जोडिन । व्रोड भिजनका लागि कृतिका भट्टले ३ विकेट र सुजल खड्काले दुई विकेट लिईन् ।
शारदाले दिएको मध्यम लक्ष्य पछ्याएको व्रोड भिजन १७ ओभरमा अलआउट हुँदै ७२ रनमा समेटियो । व्रोड भिजनका लागि प्रिति यादवले १८ रन बनाउनु वाहेक अन्य व्याट्वुमनहरुले दोहोरो रन अंक छुन सकेनन् । शारदाका लागि प्रियंका मण्डले ४ विकेट करुणा चौधरी र ज्योती शर्माले दुई दुई विकेट लिईन् ।
यसअघि भएको पहिलो सेमिफाईनलमा त्रिभुवनले राष्ट्रिय तुल्सीराम माविलाई ५७ रनले हराउँदै त्रिभुवन फाईनल पुगिसकेको छ ।
फाईनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ ।