काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेललाई ललितपुर प्याट्रियट्सले प्रस्ताब गरेको छ ।
ईपीएलको नयाँ संस्करणका लागि ठुला नाम आउँदै गर्दा ललितपुरले क्रिस गेललाई ईपीएल खेल्न प्रस्ताब गरेको हो ।
’क्रिस गेललाई भित्राउने प्रयास छ । उसको एजेन्टसंग कुरा हुँदैछ ।’ क्लबका एक पदाधिकारीले खेलपाटीलाई भने, ’तर क्रिस गेलले ईपीएलको दुई खेल मात्र खेल्न सक्ने एजेण्टले बताएको छ । त्यसको लागि भए पनि कुरा गर्दै छौं ।’
क्रिस गेल विश्वक एक आक्रामक ब्याट्सम्यान हुन् । उनले विश्वका सबै ठुला फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । क्रिस गेलले वेष्ट इण्डिजबाट सबै खाले फर्म्याटको अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।
यस्तै, ललितपुरले सोमबार मात्र श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगालाई आफ्नो टिममा पक्का गरेको थियो ।
चौथो संस्करणको ईपीएलका लागि यसअघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै, आयोजकले ड्वेन स्मिथसंगै यस संस्करणमा दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका लायम प्लङ्केट, अफगानिस्तानका मोहमद सहजाद, श्रीलंकाका उपल थरंगा जस्ता खेलाडीको खेल कौशल देख्न सकिने जनाएको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।