एजेन्सी । म्यानचेस्टर युनाइटेडले इन्ग्लिश प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति भएको उद्घाटन खेलमा लेष्टर सिटीलाई २ - १ गोल अन्तरले पराजित गर्दै युनाइटेडले जितबाट नयाँ सिजनको सुरुवात गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन कप्तान पाउल पोग्बा र लुक शले एक एक गोल गरे । लेष्टरका जेमी भर्डीले एक गोल फर्काए ।
ओल्ड ट्राफोर्डमा खेलको तेस्रो मिनेट मै कप्तान पोग्बाको पेनाल्टी गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । लेष्टरका ड्यानियल अमरटेयले डिबक्सभित्र हातले बल रोकेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसमा विश्वकप बिजेता टोलीका सदस्य पोग्बाले सहजै गोल गरे ।
पहिलो हाफमा १ - ० ले आघि रहेको युनाइटेडले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको थियो । खेलको ८३ औं मिनेटमा शले गोल गर्दै लेष्टरविरुद्ध युनाइटेडलाई २ - ० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा लेष्टरका भर्डीले एक गोल फर्काएपनि युनाइटेडले खेल २ - १ आफ्नो बनायो ।
जितसंगै जोसे मोरिन्होको टोली युनाइटेडले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । लेष्टरले भने हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।
जितपछि प्रशिक्षक मौरिन्होले युनाइटेडको जितमा पोग्बाको योगदान महत्वपूर्ण भएको बताए । प्रशिक्षक मौरिन्होले भने, 'हामीले ६० मिनेट सोचेका थियौ तर उनले ८० मिनेट बढी मैदानम बिताए । निर्णय पाउलको थियो, मैले उनलाई सोधे र उनले आफुलाई उपलब्ध गरायो । उ धेरै राम्रा खेलाडी हुन् । उनको योगदान अद्भुत थियो ।'
रुस विश्वकप पछि पहिलोपटक मैदान उत्रिएका पोग्बा खेलको ८४ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । पोग्बाको ठाउमा माउरिने फेल्लानी मैदान प्रवेश गरेका थिए ।
पोग्बा प्रि-सिजनको तयारी बिना नै मैदान प्रवेश गरेका थिए । खेलपछि पोग्बाले प्रि-सिजन को तयारी नहुदा आफुलाई खेल्न निकै गार्हो भएको बताए ।
'म सोमबार मात्र आईपुगे । मैले कुनै प्रि-सिजनको खेल खेलिन् । त्यसैले खुट्टाको लागि निकै गार्हो थियो,' पोग्बाले भने, 'विश्वकप उपाधि पुरानो भईसक्यो । मलाई नयाँ चुनौती मन पर्छ । म आफुलाई परिष्कृत गर्दै लैजानेछु र धेरै उपाधि जित्छ चाहन्छु ।'