काठमाडौं । विश्वकप छनोट अन्तर्गत विश्व क्रिकेट लिग-२ को पहिलो सिरिज नेपालले घरेलु मैदानमा खेल्दै छ । लिग मात्र नभएर नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल घरेलु दर्शक सामु खेल्न लागेको हो ।
एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको दुई वर्षपछि नेपालले घरेलु भूमिमा पहिलो पटक ओमान र अमेरिकासंग लिग-२ को सिरिज खेल्न लागेको हो ।
लिग माघ २२ देखि २९ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
नेपालले पछिल्लो ३ सातादेखि सिरिजका लागि अभ्यास गरिरहेको छ । पहिलो एक दिवसीय तथा लिगको महत्वपूर्ण खेल भएको कारण नेपालले कुनै पनि हालतमा अंक गुमाउन चाहन्न ।
तर नेपाललाई घरेलु भूमिमा दुई राष्ट्रलाई पराजित गर्न भने सहज छैन ।
दुई टोली लिगका बलियो राष्ट्र मध्यका हुन् ।
अमेरिका ८ खेलमा ६ जित सहित १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । ओमान ६ खेलमा ४ जित सहित ८ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।
लिगमा नेपालले मात्र खेल्न बाँकी रहेको छ ।
विगतको रेकर्ड हेर्दा ओमानलाई नेपालले पछिल्लो सात वर्षदेखि पराजित गर्न सकेको छैन ।
हालसम्म नेपाल र ओमान ७ पटक एक दिवसीयमा आमने सामने भएका छन् । जसमा नेपाल र ओमान दुवैले समान ३-३ खेल जितेका छन् ।
नेपालले सुरुवाती ३ खेलमा जित हात पारेको थियो । ओमानले पछिल्लो ३ खेलमा नेपाललाई पराजित गर्दै आएको छ ।
सिंगापुरमा भएको सन् २००२ को एसीसी ट्रफीमा नेपाल र ओमानले पहिलो खेल खेलेका थिए । जसमा नेपालले ओमानलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको ओमान ३५ ओभर ३ बलमा ४८ रन बनाउँदा अलआउट भयो ।
सो खेलमा नेपालले सहजै जित हात पारेको थियो ।
ओमनका ५ खेलाडीले खाता खोल्न सकेका थिएनन् । मात्र २ खेलाडीले दोहोरो अंक बनाएका थिए ।
नेपालको सहज जितमा शक्ति गौचन र बसन्त रेग्मीले समान ३-३ विकेट लिएका थिए ।
यस्तै, सन् २०१० को एसीसी इलाईट ट्रफी नेपाल र ओमानको दोस्रो भेट थियो । जसमा नेपालले ६ विकेटको जित हात पार्न सफल भएको थियो ।
ओमानले दिएको १ सय ६९ रनको लक्ष्य नेपालले ३८ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।
नेपालले ओमानलाई अन्तिम पटक सन् २०१३ मा पराजित गर्यो । बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपाल ओमानमाथि २८ रनले विजयी भएको थियो ।
नेपालले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको ओमान १ सय ३२ रनमा अलआउट भयो ।
त्यसयताको भेटमा नेपालले ओमानलाई पराजित गर्न सकेको छैन । ओमानमाथि सूरुवातमा हाबी हुँदै आएको नेपाल अहिले उसलाई हराउन हम्मेहम्मे पर्न थालेको छ ।
नेपालले सन् २०१४ को एसीसी प्रिमियर लिगमा ओमानसंग पहिलो पराजय ब्यहोरेको थियो ।
नेपालले दिएको १ सय ५८ रनको लक्ष्य ओमानले ४७ ओभर ५ बलमा ८ विकेट गुमाएर भेट्टाएको थियो ।
सन् २०१८ को एसिया कप छनोटमा ओमानसंग नेपाल पुन ७ विकेटले पराजित भयो ।
नेपालले प्रस्तुत गरेको २ सय २३ रनको लक्ष्य ओमानले ४८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपाल र ओमानकको भेट अन्तिम पटक आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो ।
जसमा समेत नेपालले खराब प्रदर्शन गरेको थियो ।
सो खेलमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो । नेपालले पहिले ब्यटिङ्ग गर्दै सानो स्कोरमा समेटिएको थियो ।
नेपालका लागि शरद भेसावाकरले २२ रनको सर्वाधिक पाली खेलेका थिए ।
पछिल्लो समय ओमानले क्रिकेटमा काँचुली फेरेको छ । हाल ओमानले आप्रबासी खेलाडीलाई समेत टिममा राख्न थालेपछि उसले क्रिकेेटमा फड्को मार्दै आएको हो ।
ओमानको टिममा पाकिस्तान, भारत लगायतका खेलाडीको बाहुल्यता रहेको छ । नेपालीमुलका सुरज कुमार समेत ओमानबाट खेल्दै आएका छन् ।
ओमानले नेपाल भन्दा धेरै पछि टी–ट्वान्टी र एकदिवसीय मान्यता पाएको थियो । यस्तै सन् २०१६ मा टी ट्वान्टी विश्वकपमा पहिलो सहभागिता जनाएको ओमन सन् २०२० को विश्वकपमा समेत छनोट भएको छ ।