काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जर्मन नागरिक नविन पाण्डेलाई नेपाल प्रतिनिधि कै रुपमा विश्व फुटबल महासंघ फिफा कंग्रेसमा सहभागी गराएको स्पष्ट पारेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले कार्यसमितिको निर्णय अनुसार विदेशी नागरिक पाण्डेलाई नेपालको प्रतिनिधित्व गराउदै फिफा बैठकमा सहभागि गराएको बताएको हो ।
एन्फा प्रवक्ता किरण राईले मतदान अधिकार अध्यक्ष कर्माछिरिङ शेर्पालाई दिदै महासचिव इन्द्रमान तुलाधर र विदेश विभाग प्रमुखको हैसियतमा पाण्डेलाई फिफा बैठकमा पठाएको प्रष्ट पारे ।
‘मताधिकार अध्यक्षलाई दिएर सहायक भुमिकामा उहाँ (पाण्डे) लाई फिफा बैठकमा पठाएका हौ । त्यसले देशलाई घाटा भयो भन्ने लाग्दैन,’ प्रवक्ता राईले भने, ‘उहाँ (पाण्डे)विदेशी नागरिक भन्दा समेत एनआरएन हो । फुटबलको अन्तराष्ट्रिय दायरा छ । यसको विकास गर्न युरोपेली मुलुकसंगको सम्बन्ध अगाडी बढाउन आवश्यक छ । पाण्डेलाई नेपालको फाईदाको निम्ति राखेका छौ । पाण्डेलाई नियुक्त गर्दा कार्यसमितिले फाईदा बोध गरेको छ ।’
रुसको मस्कोमा जुन १३ मा बसेको फिफा कंग्रेसको ६८ औ बैठकमा एन्फाले नेपाली मुलका जर्मन नागरिक पाण्डेलाई नेपाल प्रतिनिधि बनाएर पठाएको भन्दै एन्फा नेतृत्वको चर्को आलोचना भएको थियो । देशको प्रतिनिधित्व हुने विश्व फुटबलको सर्वोच्व निकाय फिफामा एन्फाले विदेशी नागरिकलाई प्रतिनिधि बनाएर गम्भीर त्रुटि गरेको भन्दै एन्फा कार्यसमितिमै चर्को विवाद भएको थियो ।
एन्फा सुचना विभागका सह संयोजक बद्री भण्डारीले पाण्डे विदेशी नागरिक वा गैरआवसीय नेपाली भन्ने विवाद बहषको बिषय भएको बताए । ‘विदेशी नागरिक भन्दा गैरआवसीय नेपालीलाई हेर्ने नजर फरक हुन्छ । गैरआवसीय नेपालीको ज्ञान, सिप र दक्षतालाई प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘एन्फाको विदेश विभाग हेर्ने भएकाले अध्यक्षकै सल्लाहकारको रुपमा उहाँ फिफा कंग्रेस बैठकमा जानु भएको हो ।’
एन्फाका पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले विदेशी नागरिकलाई नेपालको प्रतिनिधि बनाएर विदेश पठाएको भन्दै छानविन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयमा आजै शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।
यस्तै एन्फाले राष्ट्रिय टिमका पुर्व प्रशिक्षक राजुकाजी शाक्यलाई बर्खास्त नगरेको प्रष्टिकरण दिएको छ । एन्फा प्रवक्ता राईले शाक्यको जिम्मेवारी हेरफेरमात्र भएको बताउदै चाँडै नयाँ जिम्मेवारी तोकिने संकेत गरे ।
‘एन्फा चुनावपछि नयाँ नेतृत्व आएपछि उहाँ र हामीबीच केही दुरी र असमझदारी अवश्यनै रह्यो,’ उनले भने, ‘तर हामीले पत्र पठाएर उहाँसंग औपचारिक छलफल अघि बढाईसकेका छौ । उहाँको इच्छा अनुसार चाँडै निर्णय हुनेछ ।’