एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले सहज जित निकालेको छ ।
अकल्याण्डमा आइतबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले हराएको हो ।
न्युजिल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
भारतको जितमा लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका उनले ५७ रन बनाए । श्रेयस एयरले ४४ रन बनाए ।
कप्तान विराट कोहली ११ रनमा आउट भए । न्युजिल्याण्डका टिम साउथीले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
न्युजिल्याण्डका टिम सिफर्ट र मार्टिन गुप्तीलले समान ३३ रन बनाए । कोलिन मुन्रोले २६ रन जोड्दा रोस टेलरले १८ रन बनाए ।
जितसँगै भारतले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
पहिलो खेलमा न्युजिल्याण्डलाई भारतले ६ विकेटले हराएको थियो ।