काठमाडौं । प्रदेश नम्बर १ प्रादेशिक क्रिकेट संघले गायक प्रमोद खरेललाई सद्भावना दुत नियुक्त गरेको छ ।
विराटनगरमा शनिबार बसेको प्रदेश-१ को प्रादेशिक क्रिकेटको बैठकले गायक खरेललाई सद्भावना दुत नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ । प्राविधिक समितिमा प्रदीपराज पाण्डे, कार्य सम्पादनमा मिङमा डण्डु शेर्पा, खेलाडी छनोटमा लाक्पा लामा, अनुशासनमा सचिन सुब्बा र आर्थिक समितिमा बिरु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
यस्तै सिनियर पुरुष टिम म्यानेजरमा अजय राजबंशी र प्रवक्तामा मनोज कटुवाललाई नियुक्त गरेको छ । महिलातर्फ टिम म्यानेजरमा भने पूर्व महिला खेलाडी र जिल्ला महिला सदस्यले पालोपालो गर्ने जनाएको छ ।
प्रदेश क्रिकेटसंग आबद्ध भएका पाँचवटै जिल्लामा खेल मैदानको पहिचान गरि स्तरउन्नति गरी विद्यालय र कलेजलाई समेटेर प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रशिक्षक र स्कोररको क्षमता बिकासका लागि तालिम र गोष्ठी गर्ने तथा शिशिर उपाध्यायलाई कार्यालय सचिबमा नियुक्त गर्दै सबै जिल्लामा कार्यालय निर्माणको पहल निर्णय गरेको छ ।
क्रिकेट बिकास र प्रवर्धनका लागि ६ सदस्यको सल्लाहकार समिति गठन गरेको छ । समितिमा भिम पराजुली, पारस लुनिया, सुर्य थपलिया, इश्वर कार्की, निल डेविट कटुवाल र जीवन कुमार दास रहेका छन् ।