एजेन्सी । इन्ग्लिश प्रिमियर लिगको ग्रीष्मकालीन खेलाडी किनबेच (ट्रान्सफर विन्डो) बिहिबार रातीबाट बन्द भएको छ । ट्रान्सफर विन्डो बन्द हुनुअघिको अन्तिम (डेटलाइन डे) पनि धेरै खेलाडी किनबेच भएको छ ।
इन्ग्लिश प्रिमियर लिगको ट्रान्सफर विन्डोको अन्तिम दिनमा २५ खेलाडीको किनबेच भएको छ । जसमा प्रिमियर लिग क्लबले १२८ मिलियन पाउण्ड खर्च गरेको छ । अन्तिम दिन १३ क्लबले आफ्नो टोलीमा नयाँ खेलाडी भित्राएको छ ।
ट्रान्सफर विन्डोको अन्तिम दिन सबैभन्दा बढी खेलाडी फुलहमले भित्राएको छ । यसै सिजन शीर्ष डिभिजनमा फर्किएको फुलहमले पाँच खेलाडी अनुबन्ध गरेको छ । फुलहमले मार्सेलीका मिडफिल्डर आन्द्रे फ्रान्क,ब्रिस्टोलका जोय ब्रायन, सेभियाका किपर सर्जियो रिको, एट्लेटिको मड्रिडका लुसियानो भिट्टो र म्यानचेस्टर युनाइटेडका थिमोठी टिमोथी मेन्साहलाई अनुबन्ध गर्यो ।
यस्तै एभर्टनले अन्तिम दिन बार्सिलोनाका आन्द्रे गोमेज र यरी मिनालाई क्लबमा अनुबन्ध गर्यो । यस्तै ब्राजिलियन विंगर बर्नाडलाई क्लबमा भित्रायो । त्यस्तै चेल्सीले रियल मड्रिडबाट माटियो कोभासिचलाई लोंमा अनुबन्ध गर्यो । सिटीले अन्तिम दिन अष्ट्रेलियाका ड्यानियल अर्जानीलाई क्लबमा अनुबन्ध गर्यो ।
ट्रान्सफर विन्डोको अन्तिम दिन प्रिमियर लिगका ठुला क्लबहरु म्यानचेस्टर युनाइटेड, आर्सनल, लिभरपुल, टोटेनहम लगायतले खेलाडी अनुबन्ध गर्न सकेन । तर, ब्राइटन, कार्डिफ सिटी, क्रिस्टल प्यालेस, हडर्सफिल्ड, लेष्टर, न्युकासल, साउथह्याम्पटन, वेष्ट ह्याम र वुल्भ्सले खेलाडी अनुबन्ध गरेको छ ।