काठमाडौं । नेपाली क्रिकेटर सागर पुनले मलेसियामा जारी मलेसियन प्रिमियर लिग क्रिकेटमा शानदार प्रदर्शन गरेका छन् । क्वालालम्पुरबाट खेलिरहेका सागरले शुक्रबार उत्कृष्ट प्रदर्शन गर्दै शतक प्रहार गरेका छन् ।
सागरले शतकीय इनिङ खेलेपनि उनको टोली क्वालालम्पुर लिगको फाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरले सेमिफाइनलमा सिलानगोरलाई १२२ रनले हराएर फाइनलमा स्थान बनाएको हो । सागरको उत्कृष्ट प्रदर्शनमा क्वालालम्पुरले जितको लागि सिलानगोरलाई ३०६ रनको फराकिलो लक्ष्य दिएको थियो ।
क्वालालम्पुरको फराकिलो लक्ष्यमा सागरले ११८ बलमा ९ चौकासहित १०० रन जोडे । यस्तै क्वालालम्पुरको लागि कप्तान अहमेद फैजले ९० तथा सैफुल्लाह मालिकले ६६ रन बनाए । यसै क्लबबाट खेलिरहेका नेपालका आसिफ शेखले अविजित २० रन जोडे । सिलानगोर हाफिजुदीनले २ विकेट लिए ।
क्वालालम्पुरले दिएको ३०६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिलानगोरले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर १८३ रन मात्र जोड्न सक्यो । सिलानगोरका दिभेन्द्रन मोगनले अविजित ५७ रन कप्तान शंकर साथीसले ३५ रन जोडे । सिलानगोरलाई सस्तैमा समेट्न क्वालालम्पुरका सायद अजिजले ३ तथा नेभिल कुमाराले २ विकेट लिए ।
अब क्वालालम्पुरले फाइनलमा मलेसियाली आर्मी र केवाङसान युनिभर्सिटीबीचको बिजेतासंग खेल्ने छन् ।