काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व उपाध्यक्ष मणि कुँवरले एन्फाको नयाँ कार्यसमितिले रेलिगेसन बिनाको लिग गर्न लागेको र विदेशी नागरिकलाई फिफा कंग्रेसमा पठाएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेका एन्फाका पुर्व उपाध्यक्ष कुँवरले शुक्रबार छानिबनको माग गर्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) मा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा रेलिगेसन बिनाको लिगले नेपाली फुटबल धरासायी हुने र विदेशी नागरिकलाई देशको झन्डा बोक्न लगाएर देशको शिर निहुराएको भन्दै छानबिनको माग गरेका हुन् ।
गत वैशाखमा २२ गते एन्फाको बिधान बिपरित विभिन्न व्यक्तिहरुलाई डर, त्रास र धम्की दिएर निर्वाचन गरेको र नयाँ नेतृत्वले गलत कार्यहरु गरेको भन्दै कुँवरले छानबिन माग गरेका हुन् । कुँवरले ज्ञापनपत्रमा विभिन्न ५ बुदाहरुमा छानबिन गर्न माग गरेका छन् ।
'संसारमा नभएको रेलिगेसन बिनाको लिग गर्ने भनेर चुनावमा क्लबसंग गरेको बाचा पुरा गर्न नेतृत्व लागेको र रेलिगेसन बिनाको लिगले नेपाली फुटबल खेललाई धरासायी पार्ने प्रष्ट भएको भईसकेको छ,' मन्त्रालय र राखेपलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, 'आफुलाई चुनावमा सहयोग गरेको भरमा विदेशी नागरिक नविन पाण्डेलाई देशको प्रतिनिधि बनाएर फिफा कंग्रेसमा सहभागी गराएको र देशको झन्डा बोक्ने जस्तो काम जर्मनीका नागरिकलाई लगाएर सम्पूर्ण नेपालीको शिर निहुराएको छ ।'
एन्फाले रेलिगेसन नहुने सहिद स्मारक ए डिभिजन लिग असोज १३ गतेबाट गर्ने निर्णय गरिसकेको छ । बिज्ञान राज शर्माको संयोजकत्वको कमिटिले लिग आगामी असोज १३ देखि माघ १६ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
एन्फाले रुसको मस्कोमा जुन १३ मा बसेको फिफा कंग्रेसको ६८ औं बैठकमा जर्मन नागरिक नविन पाण्डेलाई नेपाल प्रतिनिधिको रुपमा सहभागी गराएको थियो । बैठकमा अध्यक्ष शेर्पासंगै महासचिव इन्द्रमान तुलाधर र पाण्डे सहभागी भएका थिए । सोही बैठकले सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले गर्ने निर्णय गरेको थियो ।
यस्तै कुँवरले रुसमा सम्पन्न विश्वकप दौरान एन्फाले २ सय ५० टिकट ल्याएको भएपनि त्यसको पारदर्शिता कायम नगरी मानीमानी गरेको र संघको चुनाव भएको ३ महिना नबित्दै चितवनमा साधारणसभा बोलाई बिधान संसोधन गरेर संघ कब्जा गरेको तथा एन्फाले मानोमानी तरिकाले प्रदेश संरचना बनाएको बारे समेत छानबिनको गर्न माग गरेका छन् ।