काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको पहिलो खेलमा पराजय बेहोरेको छ ।
आज बिहान भएको पहिलो खेलमा सन्दीपको टिम प्याट्रियट्स गुयाना अमेजन वारीवर्ससंग ६ विकेटले पराजित भएको हो । जितसंगै वारीवर्सले २ अंक जोडेको छ ।
प्याट्रियट्सले दिएको १४७ रनको लक्ष्य वारीवर्सले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । वारीवर्सको जितमा शिमरोन हेटम्येरले अविजित ७९ रन जोड्दा कृष ग्रीनले अविजि २५ रनको योगदान दिए । यस्तै जासन मोहमेदले १६ रन जोड्दा कप्तान सोयब मल्लिकले १४ रन जोडे ।
प्याट्रियट्सका लागि सेल्डोन कोट्रेल र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । सिपीएल क्रिकेटमा डेब्यु गरेका सन्दीपले ४ ओभर खेल्दै १२ रन खर्चिएर २ विकेट लिए । तर, टोलीको हार टार्न सकेनन् । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको प्याट्रियट्सले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४६ रन जोडेको थियो । प्याट्रियट्सका कप्तान क्रिस गेलले ८६ रन जोड्दा टम कोपर र बेन कटिङले समान १५/१५ रन जोडे । वारीवर्सका किमो पाउलले २ विकेट लिए ।