काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् । आज बिहान गुयाना अमेजन वारीवर्सविरुद्ध खेल्दै डेब्यु गरेका सन्दीपले ४ ओभर खेल्दै १२ रन खर्चिएर २ विकेट लिएका छन् । सन्दीपले वारीवर्सका चाडविक वाल्टन र जासन मोहमेदलाई आउट गरे ।
सीपीएलको लागि सन्दीप नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका थिए । सन्दीप नेदरल्याण्डविरुद्धको ऐतिहासिक एकदिवसीय सिरिज खेलेर त्यसतर्फ गएका हुन् ।
सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो ।
सीपीएल खेलेर सन्दीप अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने एसिया कप छनोट खेल्न मलेसिया आउने छन् । छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए । आईपीएल अक्सनमा २० हजार र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाग लागेको थियो ।
सन्दीपले नेपालबाट २२ लिस्ट ए खेलमा ४३ विकेट लिइसकेका छन् ।