एजेन्सी । क्रोएसियाका फरवार्ड निकोला कालिनिचलाई स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गरेको छ । एट्लेटिकोले बिहिबार सामाजिक संजाल ट्वीटरबाट फरवार्ड कालिनिचलाई अनुबन्ध गरेको जनाएको छ ।
एट्लेटिकोले ३० बर्षिय कालिनिचलाई इटालियन क्लब एसी मिलानबाट क्लबमा भित्र्याएको हो । तर, क्लबले अनुबन्ध रकमबारे केहि खुलाएको छ । एट्लेटिकोले कालिनिचलाई ३ बर्षको लागि अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
कालिनिचले गत सिजन एसी मिलानबाट ४१ खेलमा ६ गोल गरेका थिए ।
कालिनिच गत महिना रुसमा सम्पन्न विश्वकपमा क्रोएसियाको टिममा रहेका थिए । तर, पहिलो खेलपछि उनलाई घर पठाइएको थियो ।
समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्धको २ – ० को जित निकाल्ने क्रममा सब्सिच्युट खेलाडीको रुपमा मैदान पस्न नमानेपछि कालानिचलाई घर फर्काइएको थियो । कालिनिचले क्रोएसियाका लागि ४१ खेलमा १५ गोल गरेका छन् ।