काठमाडौं । साफ अन्डर १५ महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । थिम्पुस्थित चालिमिथाङ मैदानमा भएको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा थप ६ गोल थप्यो । दोस्रो संस्करणको च्याम्पियनसिप आज भुटानमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल शनिबार पाकिस्तानसंग खेल्नेछ ।
पहिलो संस्करणमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली टोली यो पटक उपाधि जित्ने लक्ष्य बोकेर भुटान पुगिसकेको छ । विगतमा भन्दा यसपटक तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको प्रशिक्षक गंगा गुरुङ बताएकी छिन् ।
नेपालले समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।