काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सुनसरीको इनरुवामा शनिबार भएको फाइनल नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त गर्यो ।
इनरुवा रंगशालामा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस २४ ओभर ४ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।
पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल साहले २१ रन बनाए ।
आर्मीका सुशन भारीले ४ विकेट लिए । साहब आलमले ३ र कुशल मल्लले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो ।
आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए ।
बिक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए ।
पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले ३/३ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सुशन भारी चुनिए । उनले ५५ हजार रुपैयाँ हात पारे। उनले ४ खेलमा कुल १५ विकेट लिए ।
यस्तै प्रतियोगिताको उत्कृष्ट बलर ३ खेलमा १४ विकेट लिएका सुदुरपश्चिमका विनोद लामा र उत्कृष्ट ब्याट्सम्यान ४ खेलमा १ शतकसहित १ सय ९६ रन बनाएका आर्मीका कुशल मल्ल चुनिए । दुबैले जनही २१ हजार रुपैयाँ प्राप्त गरे ।