काठमाडौं । भारतले आयोजना गर्ने चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपालले सहभागिता जनाउने भएका छन् । नेपाली यू - १९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक बिनोद दासले नेपालले सहभागिता जनाउने पक्का भएको जानकारी गराए ।
नेपाली टोलीका प्रशिक्षक दासले बिहिबार पत्रकार सम्मेलन गर्दै सिरिज खेल्ने जानकारी गराएका हुन् । यस्तै प्रशिक्षक दासले सिरिजको लागि नेपाली टिम छनोट गर्न तीन दिने छनोट प्रतियोगिता गर्ने जानकारी गराए ।
प्रशिक्षक दासले छनोट खेल इन्डोर हलमा आयोजना हुने बताए । दासका अनुसार छनोट खेल आगामी साउन २८,२९ र ३० गते हुने छ । रातोपुलस्थित भेलोसिटि एरिनामा हुने छनोट बिहान ९ देखि बेलुका ३ बजेसम्म चल्ने प्रशिक्षक दासले जानकारी गराए । छनोटमा नेपाल भरिका १९ बर्ष मुनिका खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
'हामीले टिम छनोटको लागि खेलाडीलाई आह्वान गरेका छौं, छनोट तीन दिन चल्नेछ,' प्रशिक्षक दासले पत्रकार सम्मेलनमा भने, 'छनोटमा आउदा खेलाडी आफ्नो जन्म मितिको सर्टिफिकेट ल्याएर आउनु पर्नेछ । खेलाडीको जन्ममिति १९९९ सेप्टेम्बरपछि हुनु पर्नेछ ।'
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले दुई घरेलु टोली र अफगानिस्तान सम्मलित एकदिवसीय सिरिजको लागि नेपाललाई प्रस्ताब गरेको थियो । तर, सिरिजको लागि नेपाल अझै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को अनुमति कुरेर बसेको छ ।
प्रशिक्षक दासले आईसिसीसंग छलफल जारी रहेको भएपनि खेलाडी छनोट गर्ने बताए । 'हामीले आईसिसीलाई जानकारी गराईसकेका छौं तर आईसिसीबाट निर्णय आउने समय लाग्नेछ । हामीले उनीहरुको निर्णय कुर्यौ भने म संग समय छैन किनकि ९ सेप्टेम्बरमै खेल सुरु हुनेछ । त्यसैले मैले आफैले मेरो नेतृत्वमा जति सक्दो कम खर्चमा छनोट गर्ने निर्णय गरेको हो,' प्रशिक्षक दासले भने ।
कोलकातामा हुने सिरिजमा नेपालसहित भारतको यू-१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानीस्तानको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने छ । भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । सिरिज सेप्टेम्बर ९ देखि २० सम्म आयोजना हुने सिरिज खेल्ने छ ।
सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा एनसीएसंग जादभपुर युनिभर्सिटीको मैदानमा खेल्ने छ । यस्तै सेप्टेम्बर १४ मा नेपालले भारतसंग इडेन गार्डेन्समा खेल्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसंग सेप्टेम्बर १६ मा खेल्नेछ ।
यस्तै नेपालले यो सिरिजलाई यू-१९ एसिया कपको तयारी र छनोटको रुपमा लिएको प्रशिक्षक दासले बताए । एसिया कप अक्टोबरमा बंगलादेशमा हुँदैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् ।
गत बर्ष मलेसियामा आयोजना भएको यू–१९ एसिया कपमा नेपालले भारतलाई हराएर सनसनी मच्चाएको थियो । तर, नेपाल सेमिफाइनलमा अफगानिस्तानसंग पराजित भएको थियो ।