काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल भोली (शनिबार) हुँदैछ ।
इनरुवा रंगशालामा हुने फाइनलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रने छ । पुलिस मन्जित श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।
साविक विजेता समेत रहेको आर्मी उपाधि रक्षाको योजनामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलिरहेको आर्मीले सेमिफाइनलमा प्रदेश नम्बर-३ लाई ६४ रनले हराएको थियो ।
फाइनल अघिको प्रि म्याच कन्फरेन्समा आर्मीक कप्तान विनोदले उपाधि रक्षाको लक्ष्यसहित मैदान उत्रने बताए ।
यता, पुलिस पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । तर, पुलिसलाई उपाधि जित्न बलियो आर्मीको चुनौती पन्छाउनु पर्नेछ ।
पुलिसले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो ।
पुलिसका कप्तान मन्जितले आर्मी बलियो टिम भएपनि उपाधिको लागि मैदानमा उत्रने बताए ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।