काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप छनोटको लागि नेपाली टोलीले श्रीलंकामा अभ्यास गर्ने भएका छन् । नेपाली टोलीले श्रीलंकामा करिब एक साता अभ्यास गर्ने छन् ।
एसिया कप छनोटको अभ्यासको लागि नेपाली टोली अगष्ट २० मा श्रीलंका जाने कार्यक्रम रहेको छ । नेपाली टोलीले अभ्यासको दौरान अभ्यास खेल खेल्ने छन् । नेपाली टोलीले तीन अभ्यास खेल खेल्ने बताईएको छ । तर, नेपाली टोलीले खेल्ने टोलीको तय भएको छैन ।
एक साताको अभ्यासपछि नेपाली टोली त्यहिबाट मलेसिया जानेछन् । एसिया कपको लागि नेपालले पहिलो चरणमा बिहिबार १९ सदसीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ । नेपाली टोलीमा शरद भेषवाकर अटाएका छैनन् । गत साता नेदरल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दौरान घाइते भएपछि शरद टोलीमा नपरेका हुन् ।
एसिया कपको लागि नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबार हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई नेपाल आउने पक्का भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) बाट स्विकृति पाएपछि देसाई मंगलबार नेपाल आइपुग्ने छन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।