काठमाडौं । नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकरले मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको छनोट खेल गुमाउने भएका छन् । छनोटको लागि नेपालले घोषणा गरेको प्रारम्भिक टोलीमा शरद परेका छैनन् ।
नेपालले बिहिबार १९ सदसीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । जसमा शरद अटाएका छैनन् । गत साता नेदरल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दौरान घाइते भएपछि शरद टोलीमा नपरेका हुन् ।
हातको औलामा चोट बोकेका शरदको चोट ठिक हुन् अझै चार साता लाग्ने भएको छ । शरदको दाहिने हातको कान्छी औलामा चोट लागेको थियो । पहिलो खेलमा चोट बोकेका शरदले दोस्रो खेल खेलेका थिएनन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले घोषणा गरेको प्रारम्भिक टोली कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी र रोहित कुमार पौडेल रहेका छन् ।
यस्तै सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी,सुवास खकुरेल, सुनील धमला र सुशान भारी रहेका छन् ।
बन्द प्रशिक्षणपछि पहिलो चरणमा आएका १९ खेलाडीबाट १५ सदसिय नेपाली टोलीको घोषणा गरीने छ । नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबार हुनेछ ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ ।