एजेन्सी । विश्वको लोकप्रिय खेल फुटबलमा 'हेडिङ' को प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने एक वरिष्ठ मस्तिष्क विशेषज्ञले बताएका छन् ।
मस्तिष्क विशेषज्ञ डा बेन्नेट ओमालुले हेडिङको प्रयोगमा खेलाडीमा मष्तिस्कको रोग बढेको कारण सिनियर खेलाडीमा कडाइ गर्नुपर्ने र उमेर समूहका खेलाडीमा प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।
बिबिसीसंगको अन्तर्वार्तामा डा ओमालुले भनेका छन्, 'एकदम द्रुतगतिमा आएको बललाई टाउकोले रोक्नु घातक देखिन्छ, मेरो विचारमा व्यावसायिक फुटबलमा बललाई टाउकोले हान्ने प्रक्रिया बन्द गर्नु पर्छ । किनकी यो निकै खरातानक हुन्छ ।'
डा ओमालुले क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथि’ (सिटिइ) रोगबारे बताउदै १८ बर्षमुनिका खेलाडीलाई भने पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने बताए । '१२ बर्ष देखि १४ बर्ष युवा खेलाडीले फुटबलमा जुधेर खेल्न हुन्न । १४ देखि १८ सम्म खेलाडीले जुधेर खेलेप्नी हेड गर्नु हुँदैन । यो प्रक्रिया बदल्न निकै कठिन छ तर समयसंगै समाज पनि परिवर्तन हुन्छ र परिवर्तनको समय आएको छ,' उनले भने ।
इंग्ल्यान्ड र वेष्ट ब्रुमका पुर्व खेलाडी जेफ एस्टलको ७२ बर्षको उमेरमा मस्तिष्क सम्बन्धि रोग अल्जाइमरबाट निधन भएको थियो । एस्टललाई १० बर्ष अल्जाइमर भएको थियो । एक अध्ययन अनुसार १६ बर्ष व्यावसायिक फुटबल खेलेका एस्टललाई आफ्नो करियरको दौरान बढी हेडिङको कारण मष्तिस्कघातको रोग लागेको बताईएको थियो ।
एस्टलका छोरी डनले सिटिइ र हेडिङको सम्बन्धको थप अनुसन्धान गर्नु पर्ने बताएकी छिन् । उनले भनिन् , 'मेरो बुवा जसरी अरु धेरै खेलाडी पनि मृत्युका नजिक आइसकेका छन् । यो एक तथ्य भएर बाहिर आएको छ ।'