काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा भोली (शुक्रबार)बिहान पहिलो खेल खेल्दैछ ।
सन्दीपको टिम प्याट्रियट्सले गुयाना अमेजन वारीवर्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । प्याट्रियट्स र वारीवर्सबीचको खेल प्रोभिडेन्स क्रिकेट एडमा नेपाली समयअनुसार शुक्रबार बिहान ३:४५ बजे सुरु हुनेछ ।
सन्दीपलाई प्याट्रियट्सले ६ महिना अघि लन्डनमा भएको अक्सनबाट ५ हजार डलरमा खरिद गरेको थियो । निकै शानदार प्रदर्शन गरिरहेका सन्दीपले पहिलो खेलबारे क्लबले केहि बताएको छैन । तर, सम्भवत सन्दीपले पहिलो खेलबाट डेब्यु गर्न सक्ने छन् ।
सीपीएलको लागि सन्दीप नेदरल्याण्डबाटै वेष्ट इण्डिज पुगिसकेका छन् । सन्दीप नेदरल्याण्डविरुद्धको ऐतिहासिक एकदिवसीय सिरिज खेलेर त्यसतर्फ गएका हुन् ।
सीपीएल खेलेर सन्दीप अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म हुने एसिया कप छनोट खेल्न मलेसिया आउने छन् । छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।
यस्तै सन्दीपको टोली सेन्ट किट्स प्ले अफमा पुगेमा उनी फेरि मलेसियाबाट क्यारेबियन लाग्ने छन् । एसिया कप छनोटको विजेताले युएईमा सेप्टेम्बर १५ देखि २८ सम्म हुने एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने छ । छनोटको विजेताले भारत र पाकिस्तानको समूहमा रहेर खेल्ने छ । नेपाल विजयी भई एसिया कपमा पुगेमा सन्दीप क्यारेबियनबाट सिधै युएई पुग्ने सम्भावना पनि रहन्छ ।
इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले अघिल्लो महिना ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा ८ विकेट लिएका थिए । आईपीएल अक्सनमा २० हजार र क्यानाडा लिगमा ४० हजार डलरमा उनको भाग लागेको थियो ।
सन्दीपले नेपालबाट २२ लिस्ट ए खेलमा ४३ विकेट लिइसकेका छन् ।