एजेन्सी । पाहुना टोली दक्षिण अफ्रीकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा श्रीलंकाले जित निकालेको छ । बुधबार राति वर्षाले प्रभावित भएको खेलमा श्रीलंकाले डकवर्थ लेविस (डिएल) को आधारमा दक्षिण अफ्रीकालाई ३ रनले हराएको हो ।
केन्डीमा श्रीलंकाले दिएको १९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै २१ ओभर खेल्दै ९ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका हसीम अमलाले ४० तथा जेपी डुमिनीले ३८ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै कप्तान क्विनटन डी ककले २३ रन जोड्दा डेभिड मिलरले २१ रन बनाए । श्रीलंकाका सुरंगा लाकमलले ३ विकेट लिदा थिसरा परेराले २ विकेट लिए ।
यसअघि श्रीलंकाले दक्षिण अफ्रीकालाई ३०७ रनको लक्ष्य दिएको थियो । तर, दक्षिण अफ्रीकाले जवाफी ब्याटिङ्ग गरिरहदा वर्षाले खेल प्रभावित गरेपछि दक्षिण अफ्रीकाले डिएलको आधारमा २१ ओभरमा १९१ रनको नयाँ लक्ष्य पाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर ३०६ रनको उच्च योगफल तयार गरेको थियो । श्रीलंकाका डसुन शानकाले ६५ रनको अर्धशतकीय इनिङस खेल्दा थिसरा परेराले अविजित ५१ रन जोडे ।
यस्तै श्रीलंकाका लागि कुशल परेराले ५१ रन जोड्दा उपुल थरंगाले ३६ तथा निरोशन डिक्वालाले ३४ रन जोडे । दक्षिण अफ्रिकाका लुंगी नेग्दी र जेपी डुमिनीले समान २/२ विकेट लिए ।
योसंगै श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको पाँच खेलको सिरिजमा ३ – १ को स्थितिमा ल्याएको छ । सिरिज भने दक्षिण अफ्रीकाले यसअघि नै जितिसकेको छ । दुई टोलीबीचको अन्तिम एकदिवसीय आइतबार हुनेछ ।