एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमको गोलकिपर थिबाउट कोर्टुवालाई अनुबन्ध गर्ने पक्का भएको छ ।
इन्ग्लिश क्लब चेल्सीबाट कोर्टुवालाई ३५ मिलियन पाउण्डमा क्लब भित्र्याउन रियल सहमत भएको छ । रियलले सामाजिक संजाल ट्वीटरमा 'स्वागत कोर्टुवा' भनेर ट्वीट गरेको छ ।
रियलले कोर्टुवासंग ६ बर्षे सम्झौता गर्ने बताईएको छ । रियलले कोर्टुवालाई बिहिबार (आज) पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने बताईएको छ ।
रुस विश्वकपमा निकै शानदार प्रदर्शन गरेपछि रियलले कोर्टुवामाथि नजर लगाएको थियो । २६ बर्षीय कोर्टुवा सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए । चेल्सीले कोर्टुवाको स्थानमा स्पेनिस क्लब एट्लेटिको बिल्वाओका गोलकिपर केपा अराईजब्लागालाई अनुबन्ध गरिसकेको छ ।
यस्तै रियलले कोर्टुवा भित्राउदै मिडफिल्डर माटियो कोभासीचलाई भने लोनमा चेल्सी पठाएको छ । क्रोएसियाका २४ बर्षीय मिडफिल्डर कोभासीचले बुधबार नै मेडिकल गरेको बताइएको छ ।