एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा आठौं जित निकालेको छ ।
आइतबार भएको खेलमा सिड्नी स्किसर्सलाई ४४ रनले पराजित गर्दै मेलबर्नले आठौं जित निकालेको हो ।
मेलबर्नमा घरेलु टोलीले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।
सिड्नीका लागि बेन ड्वारविसले ४२ रन जोड्दा कप्तान मोइसीस हेनरिकले ४१ रन बनाए । जोर्डन सिल्कले ३२ रन बनाए ।
मेलबर्नका क्लिन्ट हिन्च्लिफले ३ विकेट लिए ।
यस्तै सन्दीपले ४ ओभरमा ३५ रन खर्चिएर १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।
मेलबर्नको लागि मार्कुस स्टोनिसले अविजित रहदै १ सय ४७ रनको शतकीय इनिङ्स खेले । यस्तै हिल्टन क्याटराइटले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
सिड्नीका टम करनले एक विकेट लिए ।
जितसँगै मेलबर्नले ९ खेलमा ८जितसहित १६ अंक जोडेको छ । र, मेलबर्न लिगको शीर्ष स्थानमा यथावत रहेको छ ।
सिड्नी ९ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।