एजेन्सी । इङ्लिस प्रियिमर लिग क्लब चेल्सीले कीर्तिमानी रकममा स्पेनिस क्लबबाट गोलकिपर भित्राउने पक्का भएको छ । लण्डन क्लबले ला लिगा क्लब एट्लेटिको बिल्वाओका गोलकिपर किपा अराईजब्लागालाई कीर्तिमानी रकम खर्चन तयार भएको हो ।
मुख्य गोलकिपर थिवाउट कोर्टूवाले क्लब छाड्ने मनसाय देखाएपछि लण्डन क्लबले स्पेनिस खेलाडीलाई कीर्तिमान ८० मिलियन युरो तिर्ने भएको हो । फुटबल इतिहासमा कुनैपनि क्लबले गोलकिपरलाई खर्चिएको यो महङ्गो रकम हो ।
नयाँ गोलकिपर भित्राउने पक्का गरेपछि चेल्सीले कोर्टूवालाई समेत ३८ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिड पठाउन सहमत भएको छ ।
मेडिकल लगायतका कागजी प्रक्रिया पुरा गरेपछि लण्डन क्लबले उनलाई सार्वजनीक गर्ने तयारी गरेको छ । बेल्जियम खेलाडी कोर्टूवाले प्रि सिजन प्रशिक्षणमा सामेल हुन अस्विकार गरेपछि नयाँ गोलकिपर ल्याउन चेल्सीमाथि दबाब परेको थियो ।
बर्षको सूरुवातमा मात्र बिल्वाओले किपालाई १७ दशमलव ९ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो ।