काठमाडौं । सुदूरपश्चिम प्रदेशले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजयी सुरुवात गरेको छ ।
इनरुवामा शनिबार भएको समूह चरणको पहिलो खेलमा मलेसिया-११ लाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुवात गरेको हो ।
इनरुवा रंगशालामा मलेसियाले दिएको ५० रनको लक्ष्य सुदूरपश्चिमले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमका लागि खड्क बोहरा र लोकेश बमले अविजित रहदै १५/१५ रन बनाए । गजेन्द्र बोहरा ११ रनमा आउट हुँदा अरुण ऐरीले ६ रन बनाए ।
मलेसियाका अनवर रहमान र देभेन्दरन मोगनले १/१ विकेट लिए ।
मैदान ओसिलो हुँदा ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको मलेसिया २२ ओभरमा अलआउट हुँदै ४९ रनमा समेटिएको थियो ।
मलेसियाका भिरणदिप सिंहले सर्वाधिक २२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न शेर मल्लले ११ रन खर्चिएर ५ विकेट लिए । यस्तै विनोद लामाले ४ विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । र, समूह 'डी' को सुदूरपश्चिमले २ अंक जोडेको छ ।