काठमाडौं । मलेसियामा अगष्ट अन्तिम साताबाट हुने एसिया कपको छनोट खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई नेपाल आउने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) का नेपाल प्रतिनिधि भावना घिमिरेले ब्याटिङ प्रशिक्षकको लागि देसाईको नाम सिफारिस गरेको खेलपाटीलाई जानकारी गराईन् ।
घिमिरेका अनुसार एसियाली क्रिकेट काउन्सिल (एसीसी) बाट स्विकृति पाएलगत्तै प्रशिक्षक देसाई नेपाल आउने छन् ।
'देसाई लगभग आउने पक्का जस्तै छ । तर, टुंगो लाग्न अझै केहि दिन लाग्नेछ । किनकी एसीसीले स्विकृति नदिएसम्म देसाई आउने छैनन् । एसीसीसंग कुरा भईरहेको छ,' आईसिसी प्रतिनिधि घिमिरेले भनिन् ।
देसाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को ‘सी’ लेभल प्राप्त प्रशिक्षक हुन् । भारतीय टोलीबाट क्रिकेट नखेलेका ४३ वर्षका देसाईले गुजरातबाट भने फस्ट क्लास क्रिकेट खेलेका थिए । देसाई खेलकुद सम्बन्धि ट्रेनिङ दिने संस्था कोच स्पोर्ट्सको हाई पर्फमेन्स डिरेक्टर समेत हुन् ।
एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् । छनोटको पहिलो खेलमा नेपालले ओमानसंग खेल्नेछ । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् ।
छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।