काठमाडौं । व्यावसायिक फुटबल करियर खोज्दै अष्ट्रेलिया पुगेका कीर्तिमानी जमैकन धावक उसेन बोल्टको सपना साकार हुने भएको छ । ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएर फुटबलमा करियर बनाउन लागिपरेका बोल्टले अष्ट्रेलियाको शीर्ष डिभिजन क्लबमा प्रशिक्षणको मौका पाएका छन् ।
बोल्टले अष्ट्रेलियाको ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्समा प्रशिक्षणको मौका पाएको बिबिसीले जनाएको छ । प्रशिक्षण अघि ३१ बर्षिय बोल्टले क्लबमा ट्रायल दिएका थिए । बोल्टले अनिश्चितकालीन समयको लागि प्रशिक्षणको मौका पाएको बिबिसीले जनाएको छ । अष्ट्रेलियन ए डिभिजन लिग अक्टोबरबाट सुरु हुनेछ ।
मरिनर्स क्लबका सीईओ शान माइलेकम्पले क्लबले बोल्टलाई खुसीसाथ क्लबमा प्रशिक्षणको अवसर दिएको बताउदै क्लबको प्रशिक्षणले बोल्टको सपना साकार हुने आशा गरेको बताए । 'हाम्रो लक्ष्य नयाँपन, मनोरन्जनात्मक र सामुदायिक स्पोर्ट्स ब्रान्ड बन्नु हो । यो नै हाम्रो मुख्य प्रतिस्पर्धी हो,' सीईओ माइलेकम्पले भनेका छन्, 'उसेन बोल्ट हामीसंग आउछन्, अभ्यास गर्छन् । आशा छ व्यावसायिक फुटबल खेलाडीको विकासमा क्लबको दर्शनसंग जोडिने छ ।'
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए । यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए । बोल्टले यसअघि आफ्नो मनपर्ने इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत फुटबल खेल्न खोजेका थिए ।
बोल्टले पनि क्लबसंगको अभ्यासले आफ्नो सपना साकार हुने सम्भावना रहेको बताए । बोल्टले भनेका छन्, 'अष्ट्रेलिया आउदा म निकै उत्साहित छु । व्यावसायिक फुटबल खेल्ने मेरो सपना छ र मलाई थाहा छ की ए लिगमा पुग्न धेरै कठिन र कडा प्रशिक्षणको आवश्यकता छ । तर, म सधै भन्ने गर्छु असम्भव भन्ने केहि छैन । म चुनौतीको लागि तयार छु ।'
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।