एजेन्सी । वेष्ट इण्डिजका ओपनर ब्याट्सम्यान क्रिस गेल चार दिने टेष्टको विपक्षमा उभिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा वेष्ट इण्डिजका ब्याट्सम्यान गेल भने यसको विपक्षमा देखिएका छन् ।
'म चार दिने टेष्टको प्रशंसक होइन । मैले १०० टेष्ट खेलेको छु', गेलले भने, 'केहि टेष्ट तीन दिनमा सकिन्छ, केहि चार दिनमा सकिन्छ । तर, पाँच दिनको टेष्ट क्रिकेट अन्तिम हुन्छ ।'
आईसीसीले टेष्टलाई ४ दिनमा झार्ने तयारीसहित सदस्य राष्ट्रको बोर्डसँग छलफल गरिरहेको छ । हाल चार दिनमा नतिजा नआएको टेष्ट पाँचौं दिनसम्म हुने गर्छ ।
यस्तै गेलले पाँच दिने टेष्टले खेलाडीको मानसिक स्थितिलाई परिक्षण र वास्तविक खेलको अनुभव मिल्ने भएको कारण परिवर्तन गर्न नहुने बताए ।
टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो ।
सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ ।
चार दिनमा सिमित हुने टेष्टमा हरेक दिन कम्तिमा ९० देखि ९८ ओभरको हुनेछ । यसको अर्थ ५ दिन चल्ने टेष्ट भन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ ।
यस अघि भारतीय कप्तान विराट कोहली पनि चार दिने टेष्टको विपक्षमा देखिएका थिए ।