काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले आज (शुक्रबार) बाट बन्द प्रशिक्षण सुरू हुँदैछ ।
नेपाली टिमको बन्द प्रशिक्षण पोखरा क्रिकेट मैदानमा हुनेछ । तर, मौषमको कारण सुरुवाती केहि दिनको प्रशिक्षण भने काठमाडौंमै हुनेछ ।
मौषम सुधार भएपछि नेपाली टिम पोखरा जानेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोक नाथ प्याकुरेलले नेपाली टोलीको जिम लगायतको इन्डोर प्रशिक्षण काठमाडौंमा हुने र मौषम सुधार भएपछि आउटडोर प्रशिक्षणको लागि टिम पोखरा जाने बताए ।
'काठमाडौंमा मैदान छैन । त्यसैले प्रशिक्षण पोखरामै हुन्छ । तर, मौषमको कारण इन्डोर प्रशिक्षण यहिँ हुन्छ । सुधार भएपछि केहि दिनमा टिम पोखरा जानेछ,' प्याकुरेलले भने ।
सिरिजका लागि टियु मैदानको स्तरोन्नति र अभ्यासको लागि मुलपानी मैदानको स्तरोन्नतिको काम पनि भईरहेको छ । जसको कारण टिमले पोखरामा तयारी गर्न लागेको हो ।
यस्तै महासचिव प्याकुरेलले बन्द प्रशिक्षणको लागि सुरुवातमा २२ देखि २५ खेलाडी बोलाईने जानकारी गराए ।
विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।
नेपालले अमेरिका र ओमानसँग खेल्लिने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान
माघ २३ : ओमानविरुद्ध अमेरिका
माघ २५ : नेपालविरुद्ध अमेरिका
माघ २६ : नेपालविरुद्ध ओमान
माघ २८ : अमेरिकाविरुद्ध ओमान
माघ २९ : नेपालविरुद्ध अमेरिका