काठमाडौं । प्रदेश नम्बर २ ले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुनसरीको इनरुवामा बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै प्रदेश-२ ले सुखद सुरुवात गरेको हो ।
इनरुवा रंगशालामा कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य प्रदेश-२ ले २२ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
प्रदेश २ को जितमा हसिम अन्सारीले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेले । सुरज पटेल ३३ रनमा अविजित रहे ।
कर्णालीका दिनेश अधिकारी र अनुज चुनाराले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ३१ ओभर ५ बलमा अलआउट हुँदै १ सय २९ रन बनाएको थियो ।
कर्णालीको लागि कप्तान रबिन्द्र शाहीले सर्वाधिक ४६ रन बनाए । यस्तै दिवन पुनले २३, प्रकाश जैसीले १५ तथा विपिन रावलले १० रन बनाए ।
प्रदेश-२ का महबुब आलमले ३ विकेट लिए । यस्तै हरि शंकर शाह र आदील अन्सारीले २/२ विकेट लिए ।
जितसँगै प्रदेश-२ ले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह 'बी' को प्रदेश-२ ले १ खेलमा २ अंक जोडेको छ । र, समूहको दोस्रो स्थानमा छ ।
लगातार दुई खेलमा हार व्यहोरेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
अब पुलिस र प्रदेश-२ बीचको खेलले सेमिफाइनल पुग्ने टोलीको तय हुनेछ । पुलिस २ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।