एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।
मेलबर्नमा बुधबार भएको खेलमा सिड्नी थन्डरलाई ६ विकेटले पराजित गर्दै मेलबर्नले छैटौं जित निकालेको हो ।
सिड्नीले दिएको १ सय ४६ रनको लक्ष्य मेलबर्नले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
मेलबर्नको जितमा ग्लेन म्याक्सवेलले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले ५० रनको योगदान दिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
सिड्नीका लागि म्याथ्यु गिल्क्सले ४१ रन जोड्दा कलुम फर्गुसनले ३५ रन बनाए । उस्मान ख्वाजाले ३३ तथा एलेक्स हालेसले २६ रन बनाए ।
मेलबर्नका हरिस राउफले ३ विकेट लिए । सन्दीप भने विकेट विहीन बने ।
सन्दीपले ४ ओभरमा ३९ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट हात पारिसकेका छन् ।
जितसँगै मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । मेलबर्नले ७ खेलमा १२ अंक जोडेको छ।
सिड्नी ८ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।