काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुनसरीको इनरुवामा बुधबार कर्णाली प्रदेशलाई २ सय ६७ रनले पराजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।
इनरुवा रंगशालामा पुलिसले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली २७ ओभर १ बलमा अलआउट हुँदै ७९ रनमा समेटियो ।
कर्णालीका लागि राज साहले २३ तथा टेक मगरले १४ रन बनाए । हेमन्त ओली र दिवन पुनले १०/१० रन बनाए ।
पुलिसका सागर ढकाल, मन्जित श्रेष्ठ र ललित भण्डारीले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभर ३ बलमा अलआउट भएर ३ सय ४६ रन बनाएको थियो ।
पुलिसको फराकिलो स्कोरका लागि कुशल भुर्तेल र सुनिल धमलाले अर्धशतकीय इनिङ्स खेले । कुशलले ७८ रन बनाउदा सुनिलले ७० रन बनाए ।
त्यस्तै अनिल साहले ३६ रन जोड्दा अमित श्रेष्ठले २९, ललित भण्डारीले २७ र दिपेन्द्र सिंह ऐरीले २५ रन बनाए ।
कर्णालीका रबिन्द्र शाहीले ३ तथा युनिष सिंह र राज साहले २/२ विकेट लिए ।
जितसँगै पुलिसले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह 'सी' को पुलिसले १ खेलमा २ अंक जोडेको छ ।