एजेन्सी । प्रि-सिजन अघिको मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब लिभरपुलले इटालियन क्लब टोरीनोलाई हराएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले टोरीनोलाई ३–१ गोल अन्तरले हराएको हो ।
एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, जर्जिनियो विज्नाल्डम र ड्यानियल स्टुरेजले समान एक एक गोल गरे । टोरीनोका आन्द्रे बेलोट्टीले एक गोल फर्काएका थिए ।
पहिलो हाफको २१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै विज्नाल्डमले गोल गर्दै लिभरपुललाई २ – ० को अग्रता दिलाए । खेलको ३१ औं मिनेटमा टोरीनोका बेलोट्टीले एक गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २ – १ को अग्रता बनायो ।
दोस्रो हाफमा लिभरपुलले थप एक गोल गर्यो । खेलको ८७ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ३ - १ को सहज जित दिलाए । त्यसअघि खेलमा लिभरपुलका फाबिन्होले पेनाल्टीमा गोल गर्न नसक्दा लिभरपुलले फराकिलो अग्रता बनाउने मौका गुमाएको थियो ।
यो जितसंगै लिभरपुलले प्रि सिजनको सुखद अन्त्य गरेको छ । इन्ग्लिश प्रिमियर लिग सुरु हुनुअघि लिभरपुलले टोरीनोसंग मैत्रीपूर्ण खेल खेलेको हो । टोरीनो पनि इटालियन सिरी ए को तयारीमा रहेका छन् ।
इन्ग्लिश प्रिमियर लिग अगष्ट ११ बाट सुरु हुँदैछ ।