एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्ट क्रिकेट इंग्ल्यान्डले जितेको छ ।
केप टाउनमा मंगलबार इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ८९ रनले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डले विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत सिरिजमा १-१ को बराबरी गरेको छ ।
यस्तै इंग्ल्यान्डले सन् १९५७ पछि टेष्ट क्रिकेटमा पहिलो पटक केप टाउनमा जित निकालेको हो ।
इंग्ल्यान्डले दिएको ४ सय ३८ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको घरेलु टिम २ सय ४८ रन जोड्दा अलआउट भयो । दक्षिण अफ्रिकाका लागि पिटर मालनले ८४ रन जोड्दा क्विनटन डी ककले ५० रन बनाए ।
इंग्ल्यान्डका बेन स्टोक्सले ३ विकेट लिए । यस्तै जेम्स एण्डरसन र जोई डेन्लीले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ६९ रन बनाएको थियो । दोस्रो इनिङ्समा ३ सय ९१ रन जोड्दै इंग्ल्यान्डले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय २३ रन बानाएको थियो ।