एजेन्सी । इन्ग्लिश क्लब आर्सनलको सम्पूर्ण स्वामित्व अमेरिकन धनाड्य स्टान क्रान्केसंग रहने भएको छ । क्लबका साझेदार रुसी धनाड्य एलिशार उस्मानोभ आफ्नो शेयर क्रान्केलाई बेच्न तयार भएसंगै आर्सनलको स्वामित्व क्रान्केसंग रहने भएको हो ।
आर्सनलका मुख्य मालिक क्रान्केले मंगलबार क्लबको पूर्ण स्वामित्वको लागि आफ्ना साझेदार उस्मानोभलाई मोटो रकमको प्रस्ताव गरेको थियो । क्रान्केले क्लबमा शतप्रतिशत शेयर बनाउन उस्मानोभलाई ६०० मिलियन पाउण्डको अफर गरेको थियो ।
क्रान्केले गरेको प्रस्ताव उस्मानोभले स्विकार गरेका बीबीसीले जनाएको छ । 'मैले मेरो सम्पूर्ण शेयर बेच्ने निर्णय गरेको छु,' उस्मानोभले भनेका छन्, 'जुन विश्वमा सबैभन्दा राम्रो फुटबल क्लब बन्न सक्नेछ ।'
हाल आर्सनलमा क्रोन्केको लगानी ६७ प्रतिशत रहेको छ । क्रोन्केले आफ्नो क्रोन्के स्पोर्ट्स एण्ड इन्टरटेनमेन्ट (केएसई) नामको कम्पनीबाट आर्सनलमा लगानी गरेका छन् ।
आर्सनलमा रेड एण्ड ह्वाइट सेकुरिटिज कम्पनीबाट धनाढ्य उस्मानोभको ३० प्रतिशत लगानी रहेको छ । आर्सनलको कुल मूल्य १.८ बिलियन पाउण्ड हुनेछ ।
केएसईले आर्सनलको नयाँ रणनीति र नयाँ लक्ष्यको लागि पूर्ण शेयर किन्ने निर्णय गरेको जनाएको छ । शेयर खरिदको लागि मंगलबार नै लण्डन स्टक एक्सचेन्जमा समावेश भईसकेको बीबीसीले जनाएको छ ।