काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इनरुवामा मंगलबार आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई १० विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो ।
इनरुवा रंगशालामा एमएमसीसीले दिएको ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । आर्मीका लागि कुशल मल्लले अविजित ३५ रन जोड्दा हरिकृष्ण झाले अविजित २० रन बनाए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एमएमसीसी १९ ओभर ३ बलमा अलआउट हुँदै ५६ रनमा समेटिएको थियो ।
आर्मीका बलरसामु निरिह एमएमसीसीका सुशान्त तिमल्सिनाले सर्वाधिक १५ रन जोडे। यस्तै सोनु मण्डलले १३ रन बनाए ।
आयोजक टोलीलाई सस्तैमा समट्ने आर्मीका देब्रे हाते स्पिनर सुशन भारीले ह्याट्रिक विकेटसहित ७ विकेट लिए । उनले मात्र १६ रन खर्चिए ।
सुशनले सातौं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए । खेलको प्लेयर अफ दि म्याच सुशन चुनिए ।
यस्तै हरि चौहानले २ विकेट लिए ।
जितसँगै आर्मी समूह 'ए' बाट शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो । आर्मीले २ खेलमा दुई जितसहित ४ अंक जोड्यो ।
आर्मीले पहिलो खेलमा एपीएफलाई १ सय ८ रनले पराजित गरेको थियो ।
यस समूहबाट २ अंक जोडेको एपीएफ र अंक विहीन एमएमसीसी भने बाहिरिएको छ ।
आर्मीले अब सेमिफाइनलमा समूह 'सी' को विजेता प्रदेश ३ सँग खेल्नेछ ।