काठमाडौं । विभागीय टिम एपीएफ क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
इनरुवामा सोमबार भएको खेलमा आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई ८३ रनले पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
इनरुवा रंगशालामा एपीएफले दिएको २ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एमएमसीसी ३६ ओभर २ बलमा १ सय २१ रन जोड्दा अलआउट भयो ।
एमएमसीसीका लागि रबी रोयले सर्वाधिक २६ रन जोड्दा रुपेश श्रीवास्तवले २३ रन बनाए । यस्तै विवेक मेहेताले १५ रन बनाए । एमएमसीसीलाई सस्तैमा समेट्न एपीएफका सुर्य तामाङले ४ विकेट लिए ।
कप्तान बसन्त रेग्मीले ३ तथा यज्ञमान कुमालले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो ।
एपीएफका लागि सुमित महर्जनले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शंकर रानाले ३६ रन जोड्दा प्रदिप ऐरीले १९ रन बनाए । कप्तान बसन्त रेग्मी र सन्दीप जोरा १२/१२ रनमा आउट भए ।
एमएमसीसीका लागि सरोज बस्नेतले ४ विकेट लिए । यस्तै अल्फाज मन्सुरी, भुपाल लुइँटेल र सोनु मण्डलले २/२ विकेट लिए ।
जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । एमएमसीसी अंक विहीन रहेको छ ।
पहिलो खेलमा एपीएफ आर्मीसँग १ सय ८ रनले पराजित भएको थियो । आर्मीको १ खेलमा २ अंक रहेको छ ।
अब आर्मी र एमएमसीसीबीचको खेलपछि सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ।