काठमाडौं । विभागीय टिम एपीएफ क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसीसी) लाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।
सुनसरीको इनरुवा रंगशालामा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४३ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४ रन बनायो ।
एपीएफका लागि सुमित महर्जनले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शंकर रानाले ३६ रन जोड्दा प्रदिप ऐरीले १९ रन बनाए । कप्तान बसन्त रेग्मी र सन्दीप जोरा १२/१२ रनमा आउट भए ।
एमएमसीसीका लागि सरोज बस्नेतले ४ विकेट लिए । यस्तै अल्फाज मन्सुरी, भुपाल लुइँटेल र सोनु मण्डलले २/२ विकेट लिए ।
सेमिफाइनलमा स्थान बनाउन एपीएफका लागि यस खेल महत्वपूर्ण रहेको छ । एपीएफलाई यस खेल जित्नै पर्ने दबाब रहेको छ । पहिलो खेलमा एपीएफ आर्मीसँग १ सय ८ रनले पराजित भएको थियो ।
एमएमसीसीको यो पहिलो खेल हो ।