एजेन्सी । घरेलु टिम अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टेष्टमा न्युजिल्यान्डलाई जितका लागि ४ सय १७ रनको लक्ष्य दिएको छ ।
सिड्नीमा टेष्टको चौंथो दिन सोमबार दोस्रो इनिङ्समा २ विकेटको क्षतिमा २ सय १७ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दै अष्ट्रेलियाले न्युजिल्यान्डलाई फराकिलो लक्ष्य दिएको हो ।
अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खेले । उनले अविजित रहदै १ सय ११ रन बनाए । यस्तै मार्नुस लाबुस्चाग्नेले ५९ तथा जोइ बुर्न्सले ४० रन बनाए ।
यस अघि अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ५४ रन बनाएको थियो ।
पहिलो इनिङ्समा मार्नुसले २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यस्तै स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए ।
कप्तान टिम पेनले ३५ रन जोड्दा मिचेल स्टार्क र म्याथ्यु वेडले समान २२/ २२ रन बनाए ।
न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमे र नील वाग्नरले समान ३/३ विकेट लिए ।
पहिलो इनिङ्समा न्युजिल्यान्ड भने २ सय ५१ रन जोड्दा अलआउट भएको थियो ।
न्युजिल्यान्डका ग्लेन फिलिपले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान टम लाथमले ४९ रन बनाए । टम ब्लुनडेलले ३४ तथा जित राभलले ३१ रन बनाए ।
अष्ट्रेलियाका नाथन लायनले ५ विकेट लिए । पाट कुमिन्सले ३ विकेट लिए ।
विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज अष्ट्रेलियाले २-० ले जितिसकेको छ । यस अघि पहिलो टेष्ट २ सय ९६ रनले जितेको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७४ रनले आफ्नो बनाएको थियो ।