काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुनसरीको इनरुवामा आइतबार भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १ सय ८ रनले पराजित गर्दै आर्मीले सुखद सुरुवात गरेको हो ।
इनरुवा रंगशालामा आर्मीले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको एपीएफ ३९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो ।
एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन जोड्दा शंकर रानाले ३२ रन बनाए । यस्तै सुमित महर्जन र सन्दीप जोराले समान २३/२३ रन जोड्दा कप्तान बसन्त रेग्मीले १७ रन बनाए । आसिफ शेख र अमर सिंह रौटेला खाता नखोली आउट भए ।
आर्मीका शाहब आलमले ४ तथा कुशल मल्लले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रन बनाएको थियो ।
आर्मीका फराकिलो स्कोरमा कुशल मल्लले शतकीय इनिङ्स खेले । कुशल ६३ बलमा १३ छक्का र ५ चौकासहित १ सय ११ रन बनाए । कुशल जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी हुन् ।
यस्तै अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८, रोहित कुमार पौडेलले १४ रनको योगदान गरे ।
एपीएफका बसन्त रेग्मीले ४ विकेट लिए । यस्तै अमर सिंह रौटेलाले २ तथा प्रदिप ऐरी, सुर्य तामाङ र अबिनास बोहराले समान १/१ विकेट लिए ।
जितसँगै समूह ‘ए’ को आर्मीले पहिलो खेलमा २ अंक जोडेको छ । आर्मीले सेमिफाइनल पुग्ने सम्भावना पनि बलियो बनाएको छ । प्रतियोगिता अन्तर्गत सोमबार एपीएफ र स्थानीय टिम मनमोहन मेमोरियल क्रिकेट सेन्टरबीच खेल हुनेछ ।