काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लबलाई जितका लागि २ सय ८२ रनको लक्ष्य दिएको छ ।
इनरुवा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ४६ ओभरमा अल आउट हुँदै २ सय ८१ रन बनायो ।
आर्मीका फराकिलो स्कोरमा कुशल मल्लले शतकीय इनिङ्स खेले । कुशल ६३ बलमा १३ छक्का र ५ चौकासहित १ सय ११ रन बनाए । कुशल जारी प्रतियोगितामा शतक बनाउने पहिलो खेलाडी हुन् ।
यस्तै अनिल मण्डलले ४१, राजेश पुलामी मगरले ३८, रोहित कुमार पौडेलले १४ रनको योगदान गरे ।
एपीएफका बसन्त रेग्मीले ४ विकेट लिए । यस्तै अमर सिंह रौटेलाले २ तथा प्रदिप ऐरी, सुर्य तामाङ र अबिनास बोहराले समान १/१ विकेट लिए ।