एजेन्सी । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम टेष्टको पहिलो इनिङ्समा न्युजिल्यान्डले खराब ब्याटिङ गरेको छ ।
सिड्नीमा जारी टेष्टको तेस्रो दिन आइतबार न्युजिल्यान्ड पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको छ ।
सिड्नी क्रिकेट मैदानमा बिना विकेटको क्षतिमा ६३ रनको स्थितिबाट तेस्रो दिनको सुरुवात गरेको न्युजिल्यान्ड थप १ सय ८८ रन जोड्दा अलआउट भयो ।
न्युजिल्यान्डका ग्लेन फिलिपले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान टम लाथमले ४९ रन बनाए । टम ब्लुनडेलले ३४ तथा जित राभलले ३१ रन बनाए ।
अष्ट्रेलियाका नाथन लायनले ५ विकेट लिए । पाट कुमिन्सले ३ विकेट लिए ।
न्युजिल्यान्डलाई पहिलो इनिङ्समा सस्तैमा समेटेर अष्ट्रेलियाले दोस्रो इनिङ्स समेत थालेको छ ।
तेस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले २ सय ४३ रनको अग्रता बनाएको छ । दोस्रो इनिङ्स अष्ट्रेलियाले ४० रन जोड्दा विकेट गुमाएको छैन ।
यस अघि अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ५४ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि मार्नुस लाबुस्चाग्नेले २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले ।
यस्तै स्टेभेन स्मिथ ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए भने डेभिड वार्नर पनि ४५ रनमा पेभेलियन फर्किए । जोई बर्न्सले १८ रन बनाए ।
कप्तान टिम पेनले ३५ रन जोड्दा मिचेल स्टार्क र म्याथ्यु वेडले समान २२/ २२ रन बनाए ।
न्युजिल्यान्डका कोलिन डी ग्रान्डहोमे र नील वाग्नरले समान ३/३ विकेट लिए ।
विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज अष्ट्रेलियाले २-० ले जितिसकेको छ । यस अघि पहिलो टेष्ट २ सय ९६ रनले जितेको अष्ट्रेलियाले दोस्रो टेष्ट २ सय ७४ रनले आफ्नो बनाएको थियो ।