एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले चार दिने टेष्टलाई आफुले समर्थन नगर्ने बताएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारी गरिरहदा भारतीय कप्तान कोहली भने यसको विपक्षमा देखिएका छन् ।
'चार दिने टेष्ट ? म यसको समर्थक हैन,' घरेलु भूमिमा श्रीलंकासँगको टी-ट्वान्टी अघि कोहलीले भने, 'मलाई लाग्छ यो ठिक हुँदैन । किनकी तपाई तीन दिनको टेष्टको कुरा गर्नु हुनेछ । त्यसपछि तपाई टेष्ट क्रिकेट हराउने कुरा गर्नु हुनेछ । म यसलाई समर्थन गर्दिन ।'
आईसीसीले टेष्टलाई ४ दिनमा झार्ने तयारीसहित सदस्य राष्ट्रको बोर्डसँग छलफल गरिरहेको छ । हाल चार दिनमा नतिजा नआएको टेष्ट पाँचौं दिनसम्म हुने गर्छ ।
टेष्ट क्रिकेटको कारण अन्य क्रिकेट सिरिजमा असर पर्ने भएको कारण टेष्ट क्रिकेटलाई ४ दिनमा सिमित गर्न लागिएको हो ।
सन् २०२३ अर्थात विश्व टेष्ट च्याम्पियनसिपपछि टेष्ट क्रिकेट ४ दिनको बनाउने आईसीसीले तयारी गरेको छ ।
चार दिनमा सिमित हुने टेष्टमा हरेक दिन कम्तिमा ९० देखि ९८ ओभरको हुनेछ । यसको अर्थ ५ दिन चल्ने टेष्ट भन्दा ४ दिनको टेष्टमा मात्र ५८ ओभर कम हुनेछ ।
तर, कोहलीले चार दिने टेष्टको ढाँचा राम्रो नहुने बताए । उनले पाँच दिने ढाँचा नै टेष्ट क्रिकेटको सबैभन्दा राम्रो भएको बताए ।
'मलाई लाग्दैन कि त्यो खेलको उत्कृष्ट ढाँचा हो । क्रिकेट कसरी सुरु भयो ? पाँच दिने टेष्ट अन्तर्राष्ट्रिय स्तरको टेष्ट हो,' कोहलीले थपे, 'यो परिवर्तन गर्नु हुँदैन ।'