एजेन्सी । अमेरिकन धनाड्य स्टान क्रान्केले इन्ग्लिश क्लब आर्सनलको पूर्ण स्वामित्व ग्रहण गर्न प्रक्रिया अगाढी बढाएका छन् । क्लबका सर्वाधिक लगानीकर्ता रहेका क्रान्केले क्लबको पूर्ण स्वामित्वको लागि आफ्ना साझेदारलाई मोटो रकमको प्रस्ताव गरेको छ ।
आर्सनलका मुख्य मालिक क्रान्केले क्लबमा शतप्रतिशत शेयर बनाउन रुसी धनाढ्य एलिशार उस्मानोभलाई ६०० मिलियन पाउण्डको अफर गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको हो । गत बर्ष पनि क्रोन्केले ५२५ मिलियन पाउण्डको अफर गरेको थियो ।
हाल आर्सनलमा क्रोन्केको लगानी ६७ प्रतिशत रहेको छ । क्रोन्केले आफ्नो क्रोन्के स्पोर्ट्स एण्ड इन्टरटेनमेन्ट (केएसई) नामको कम्पनीबाट आर्सनलमा लगानी गरेका छन् ।
आर्सनलमा रेड एण्ड ह्वाइट सेकुरिटिज कम्पनीबाट धनाढ्य उस्मानोभको ३० प्रतिशत लगानी रहेको छ । क्रान्केले क्लब पूर्ण रुपमा आफ्नो बनाए आर्सनलको कुल मूल्य १.८ बिलियन पाउण्ड हुनेछ ।
केएसईले आर्सनलको नयाँ रणनीति र नयाँ लक्ष्यको लागि पूर्ण शेयर किन्ने निर्णय गरेको जनाएको छ । शेयर खरिदको लागि मंगलबार नै लण्डन स्टक एक्सचेन्जमा समावेश भईसकेको बीबीसीले जनाएको छ ।