एजेन्सी । अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्स्वेल र क्रिस लिनले बिग बास लिग (बीबीएल) मा छक्का प्रहार गरे बापत २ सय ५ डलर बुशफायर अभियानमा सहयोग गर्ने भएका छन् ।
म्याक्स्वेल र लिनले सामाजिक संजालबाट जारी बीबीएलमा प्रहार गरेको प्रति छक्का २ सय ५० डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।
करिब दुई हप्ता अघिदेखि सुरु भएको भिषण आगलागीको कारण अष्ट्रेलियाका विभिन्न शहर र जनजीवन प्रभावित भईरहेको छ ।
आगलागी प्रभावितलाई सहयोग गर्ने उदेश्यमा अहिले बुशफायर अपिल नामको अभियान चलेको छ । उक्त अभियानलाई साथ दिदै ब्रिसबेन हिटका स्टार लिन तथा मेलबर्न स्टार्सका कप्तान म्याक्स्वेलले सहयोगको घोषणा गरेका हुन् ।
'हेलो साथीहरु, मैले यस सिजनको बीबीएलमा प्रहार गरेको हरेक छक्काको २ सय ५० डलर रेडक्रस बुशफायर अपीललाई सहयोग गर्ने छु,' लिनले ट्वीटरमा लेखेका छन्, 'वास्तविक नायक जनधनको क्षतिको बचाउको पछि लागि परेका छन् । उनीहरुसंगै थुप्रै खेलका खेलाडीहरु लागिपरेको देख्दा विशेष लाग्छ ।'
यस्तै लिनको ट्वीटलाई कोट गर्दै म्याक्स्वेल लेखेका छन्, 'मनपर्यो लिन ! म तिमिसँग सहमत छु, म पनि यो सिजनको बीबीएलमा हरेक छक्काको २ सय ५० डलर सहयोग गर्नेछु ।'
म्याक्स्वेल र लिन बीबीएलका हार्ड हिटर ब्याट्सम्यान हुन् । दुवै खेलाडीले लिगमा १२ छक्का प्रहार गरिसकेका छन् ।
यस्तै बलर एडम जाम्पा, सिद्दी, रिचो लगायतका बलरले पनि हरेक विकेट बराबर २ सय डलर अभियानलाई सहयोग गर्ने घोषणा गरेका छन् ।