काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउन सक्ने भएका छन् ।
ईपीएलका एमडी आमिर अख्तरले ईपीएलको फ्रेन्चाइज टिमले अनुबन्ध गरेमा प्रतियोगिताका लागि पूर्व कप्तान अमला नेपाल आउँन तयार भएको खेलपाटीलाई जानकारी गराए ।
।
'हसिम अमला ईपीएल खेल्न तयार छन्,'अख्तरले खेलपाटीसँग भने, 'उनलाई अनुबन्धन गर्न दुई फ्रेन्चाइज टिमले दाबेदारी समेत दिएका छन् ।'
अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय नभएको अख्तरले बताए । अख्तरले केहि दिनमा अमलाले खेल्ने टिमको तय हुने समेत बताए ।
यस अघि दक्षिण अफ्रिकाका पूर्व खेलाडी रिचार्ड लेभीले ईपीएल खेलिसकेका छन् ।
ईपीएलले विदेशी खेलाडीको लागि विशेष प्रावधान बनाएसँगै ईपीएलमा ठुला खेलाडीको आगमन हुन लागेको हो । आयोजकले गत संस्करणको ईपीएल पछिका अन्य नेपाली घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले यस संस्करणको ईपीएल खेल्न नपाउने नयाँ प्रावधान बनाएको छ ।
यस्तै अख्तरले विश्वमा नाम चलेका ठुला अन्य खेलाडीसँग समेत ईपीएलका लागि कुरा भईरहेको बताए ।
'अन्य ठुला खेलाडीसँग पनि कुरा हुँदैछ,' अख्तरले थपे, 'पक्का भएपछि केहि दिनमा अझै ठुला खेलाडीको नाम सार्वजनिक हुनेछ ।'
चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।